Friday, December 18, 2009

युद्ध र शान्तिभित्रका सन्देशहरू

युद्ध र शान्तिभित्रका सन्देशहरू –नरेन्द्रजगं पिटर
बबरमहल आर्ट ग्यालरीमा भैरहेका जनयुद्धदेखि शान्ति सम्झौतासम्म को फोटो प्रदर्शनीले बिगतका कथा, व्यथा र सघांत्मक लोकतान्त्रिक धर्म निरपेक्ष गणतन्त्र नेपाल बनाउने अभियानमा देशले के, कस्तो मूल्य तिर्नु पर्‍यो भन्ने कुराहरू झल्काउँछ। माओवादीले आफैँलाई पनि बिर्सदै गएका कयौँ घटनाले पैदा गरेका भाव, तिरेका मूल्य र अहिले फेरिँदै गएको जीवनशैली, त्यसले पैदा गर्ने सोच, सम्बन्ध र भूमिकाबारे पनि घोत्लिन वाध्य पार्दछ। नाफाका जिन्दगी बिताइरहेका र बिगतका आफ्नै भूमिकाहरू पनि औपन्यासिक लाग्नेहरूलाई भिन्नै अनुभूति दिलायो। अर्कातर्फ मौकामा चौका परेर माओवादी आन्दोलनको व्याख्याता बन्न पुगेकालाई त दिल र दिमाग कसरी समयानुकुल अर्जाप्ने भन्ने पनि यो प्रदर्शनीले शिक्षा दिएको छ। युद्ध र शान्तिका अभ्यास थालनीदेखि अहिलेसम्मको कार्यनीतिमा आएका फेरबदल, मित्र र विमित्रका बदलिएका परिभाषा, अगाडि बढ्ने र पछाडि हट्ने, जनमानसलाई सपना देखाएर भूमिकामै उतार्ने, 'हामफाल देखाजायगा' भन्नेहरू र आफ्नो लागि आफैँ लड्ने अभ्यास के, कसरी भएका थिए? भन्ने स्मरण ताजा गराँउँछ। हरेक राजनीतिक अभ्यासहरू जहाँ पनि सूत्रमा हाकिँदैनन्। डोब लाग्दै जान्छ बाटो बन्दै जान्छ। आदर्शप्रतिको प्रतिवद्धताले अगाडि बढाउँदै लान्छ। आदेश र उपदेशले चल्दैनन् भन्ने कुरा सनातनमा रमाउनेहरूको जानकारीको बिषय होइन। यस युगका आबाजहरू बोलिराखेका फोटाहरूले हरेकका चौकीदारी गरिराखेका छन्। त्यो खवरदारीमा पहिलो नम्बर स्वयं माओवादीहरू पर्छन्। यहाँ अर्को एउटा नब्यूझने वर्ग छ, त्यसले हिजो जनयुद्धलाई आआफ्नै पाराले बुझ्दै माओवादीप्रतिको धारणा पनि बनायो। भ्रम ओड्यो र जाडो छल्यो। कतिपय दर्शकहरूले त्यहाँ अनैकौ कोणबाट आवेगात्मक र संवेदनात्मक प्रतिक्रियाहरू व्यक्त गरेका छन्। समकालीन राजनीति र माओवादी स्वयंका लागि पनि शिक्षा बन्नुपर्ने बिषय छ। गम्भीर बिषयहरू उठाउँदै जिम्मेवारहरूलाई कठघरामा समेत तानिएको छ। जनयुद्धको अस्तित्व नै नमान्ने र भुलाउन प्रयास गर्नेहरू एकातर्फ रहेका र अर्कातर्फ १२ हातको साइनो पनि तत्कालमा नराख्ने र अहिले भने ठेकेदार बन्न चाहनेहरूलाई अझ कयौँ प्रश्न छोड्दै लाजमर्दो पारेको छ। के जनयुद्धको औचित्य अहिले समाप्त भएको हो! त्यसबेलाको त्यागको संस्कृति, वर्ग प्रतिबद्धता र रगतको नाताभन्दापनि वर्गीय र सहयोद्धाको नाता ठूलो भन्ने भाव अहिले बदलिएको सम्बन्ध र भूमिकाले थेग्न सकेको त छ! यदि जनयुद्ध नभएको भए नेपाली राजनीतिको अहिलेको अवस्था के हुन्थ्यो! यो अवस्था आउन र ल्याउन नेपाली समाजले बिगतमा कुन मूल्य भुक्तान गर्‍यो? विभिन्न पार्टीका खेलाडीहरूको तत्कालीन भूमिका र अवस्था के, कस्तो रह्यो र थियो? र अहिले कस्तो हुँदैछ? भन्ने गम्न बाद्य पार्दछ, फोटो प्रदर्शनीले। यो प्रदर्शनी यसकारण पनि अहिले बहसमा आएको छ कि बिगतलाई भुलाएर आगतको हकवाला बन्ने अहिले जुन कोशिस हुदैछ, गम्भीर विषयलाई विगतमा हल्का तरिकाले लिइयो र गतिशील नबन्दाखेरी देश द्वन्द्वमा हेलियो भन्ने अहिलेको अवस्थालाई शिक्षा पनि हो।जिम्मेवारहरूका अजिम्मेवार भूमिकाहरू सतहमै देखा पर्दै जाँदा अग्रगमन, शान्ति र संविधान महङ्गो पर्दैछ। यथास्थिति र अग्रगमनबीचको यो टकराहटले ल्याउने अवस्था के हुने हो चिन्ता र चासोको यथोचित जवाफ दिनको साटो कसरी द्वन्द्व बढाउने भनेर केही शक्तिहरू उत्तेजनाका खेल खेल्न थालेका छन्। पर्चा टाँसेर थालनी भएको विद्रोहको शुरूआत सत्ता र विद्रोहीसँगको हात मिलाइबाट देशले बिगतमा झेलेको अवस्था र पाएका उपलब्धीहरूलाई चित्रहरूको क्रमबद्धताले युद्ध र शान्तिको अभियान प्रस्ट्याउँछ। त्यहाँ मिलेका र मिलाइएका हातहरू र फट्के किनारामा बसेका साक्षीहरूको अग्रगमन, शान्ति र संविधानका एजेण्डामा प्रतिवद्धता थिए। त्यही भाव र भूमिमा आधारित थिए। अहिले त्यसै सहमतिको राजनीतिलाई भाँड्न उत्तेजनाका निमित्त कारणहरू खोजिँदैछन्, उरालिँदैछन्। आवेग र आग्रह छरिँदैछन्। एकातर्फ आफ्ना योजना अनुसार परिस्थिति नहाँकिएपछि वातावरण धमिल्याउने कोशिस भैरहेका छन्। विगतमा हस्तक्षेपको राजनीति गाउँवस्तीमा पुगेपछि हरेक क्षेत्रमा अनौठो जागरण देखापर्‍यो। सामान्य भनिएका मान्छेहरूले सोच्न थालेपछि सामाजिक शक्ति सन्तुलन गड्बडायो। निराश जनमतमा उत्साह भर्नु चानचुने कुरा थिएन। पुराना पात्रहरूको चालचलन, रहनसहन र आर्दश देखे भोगेकाहरूको नौलो बिषयले नयाँ उत्साह मात्रै पलाएन अनौठो महत्वकांक्षालाई पनि जन्माइदियो। नयाँ मध्यमवर्गको उदय पनि भैसकेको थियो। त्यो परम्परागत मध्यमवर्गभन्दा कयौँ गुणा महत्वकांक्षी थियो। स्वत्वको भोक जनयुद्धको हस्तक्षेप राजनीतिले बढाइदिएपछि हरेक किसिमको सत्तामा हिस्सेदारी खोज्ने नयाँ वर्ग तयार भैसकेको थियो। त्यो कुरा परम्परागत सोच र शक्तिलाई पाच्य थिएन र भएन। यो पैदा भएको महत्वकांक्षालाई व्यवस्थापन गर्न सबैतिरबाट उपेक्षा भयो। यो फेरिएको अवस्थाको चाल नपाउने र यत्रो ठूलो परिवर्तनले पनि सोच र शैली फेर्न नसक्नेहरू भने अवस्थालाई निकास हैन टकराहटतिर डोर्‍याउन थाले। आफ्नै प्रतिवद्धता के थियो भनेर ख्याल गर्न छोडेपछि नयाँ बन्ने इतिहासको गतिशीलता बुझ्नपटि लागेनन्। झण्डै १६ बर्षको नेपाली अवस्थाको प्रतीक र प्रतिनिधिमुलक सन्देश बोकेको यो फोटो प्रदर्शनी, बढ्दै गएको द्वन्द्वको सावधानी र सहमति राजनीतिको लागि सचेत बनाउने शीर्षक हो भने स्वयं पुराना र नयाँ माओवादीहरूलाई आफ्नै दिल र दिमाग नियाल्ने ऐना पनि।

http://yosataa.com/index.php?link=news-detail&id=602

No comments:

Post a Comment