Thursday, January 21, 2010

कृष्णाको भ्रमण र थापाको सक्रियता

नेपालको राजनीतिक अवस्था अन्योलमा रहेको, संविधान समयमै बन्ला/नबन्ला भन्ने संशय रहेको र माओवादीले राष्ट्रिय जागरण कार्यक्रम चलाइरहेका वेला भारतीय विदेशमन्त्री एसएम कृष्णा आउनुभयो, जानुभयो । नेपालको आन्तरिक र बाह्य विषयमा अत्यन्तै महत्त्व राख्ने छिमेकी राष्ट्रका महत्त्वपूर्ण मन्त्रीको भ्रमण आफँैमा विशेष हुने भयो नै । एकातिर पूर्वराजाको भारत भ्रमण, त्यहाँका महत्त्वपूर्ण राजनेतासँगको भेटवार्ता र भारत सरकारमा शाही नातेदारहरूको अहं भूमिका भएको, अर्कोतर्फ त्यहाँ शान्ति-सम्झौताका समर्थकको महत्त्वपूर्ण भूमिका नभएको अवस्थामा कृष्णाको भ्रमणले विशेष महत्त्व राखेको छ । उहाँले के भन्नुभयो, यो मुख्य विषय होइन, के भन्न खोज्नुभयो, मुख्य कुरा यही हो ।

छिमेकीसँग भारतको चाहना हो, आफ्नो जन्मजात वैरीः पाकिस्तानको घुसपैठ नहोस्, मुख्य प्रतिस्पर्धी चीनको राजनीतिक र आर्थिकको प्रभाव नपरोस्, आन्तरिक सुरक्षा आँच आउनेगरी छिमेकी भूमि प्रयोग नहोस् । हरेक मुलुकका आ-आपनै संवेदनशीलता हुन्छन्, त्यसमा छिमेकीको सहयोगको अपेक्षा हुनु पनि स्वाभाविकै हो । नेपालमा आफ्नो एकछत्र बजार होस्, यहाँको प्राकृतिक जलस्रोतमाथि निर्वाध पहुँच रहोस् भन्ने उसको चाहना हो । उसको शताब्दी जलस्रोत रोडम्यापमा स्पष्ट यही आकांक्षा छ ।

अहिले भारतीय विदेशनीति नेहरू डक्टि्रन र गुजराल डक्टि्रनअनुसार चलेको छैन । विचार र राजनीतिको ठाउँ अहिले अर्थ-राजनीतिले ओगटेकाले यस्तै विदेशनीति चलिरहेको छ । आधुनिक भारतमा नेहरूको मिश्रति समाजवादी अर्थतन्त्र र गान्धीको आदर्श समाज इतिहासका कथा भएका छन् । आदर्शको राजनीति फाइदाको विदेशनीतिमा फेरिएपछि उपयोगिता हेर्दै सेयर मार्केटको व्यापारीले जस्तै सोच्नु अस्वाभाविक हुँदैन । तर, भारत अहिले आफैँ अन्तरविरोधको जालोमा पनि फसेको छ, जयसबाट उम्कन चाहन्छ ।

एकातर्फ विश्व आर्थिक शक्तिको होडबाजी, अर्कोतर्फ गाउँ र सहरबीचको असमानता, रूढिवाद र आधुनिकताबीचको खाडल, धार्मिक कट्टरता र त्यसले पार्ने सामाजिक सम्बन्धमा असर, गरिबी र धनीबीचको दूरी, क्षेत्रीय असमानता र स्वाभिमानको टकराहट, विकसित माओवादी विद्रोह उसका घरायसी जटिल समस्या र संवेदनशीलता हुन् । सामाजिक समस्याको हल न त कानुनी रूपमा हुन सक्छ, न त सुरक्षाका मामिला मात्रै बनाएर हुन्छ । उसको 'किंगमेकर' प्रान्त्ा बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराञ्चलसँग जोडिएको नेपालमा हुने हरेक हलचल र आन्दोलनबाट ती प्रान्त पनि अछुतो हुन सक्दैनन् । भुसको आगोझैँ सल्किरहेको सामाजिक समस्याको विस्फोटको नेतृत्वले विचार र कलाको तालमेल भएको शक्तिले कुनै पनि वेला गर्न सक्छ भन्ने कुरा त्यहाँको शासकवर्गले बुझेको छ । त्यसैले ऊ चाहन्छ, नेपाली माओवादी आन्दोलनलाई आफूअनुकूल ढालेर भावी संविधान र राज्यको स्वरूप निर्धारण गरियोस् । पहिलेदेखि जारी नेपाली राजकीय संस्कृतिको निरन्तरता होस् । जब यो अपेक्षा माओवादीबाट पूरा नहुने निक्र्याेलमा ऊ पुग्यो, तब माओवादीप्रति उसको मोह र अपेक्षा भंग भयो । कृष्णाको औपचारिक भ्रमण, ज्ञानेन्द्रको भारतमा सम्मान, अत्यन्तै प्रभावशाली नेतृ सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंहसँग उनको भेट र फर्किंदा चम्किलो अनुहार, सूर्यबहादुर थापाको भारत भ्रमणपछिको राजनीतिक सक्रियता, माओवादीप्रति पूर्वाग्रही व्यवहार र राजनीतिक अस्तित्व धराप परेकाहरूसँग उनको हिमचिम, संघीयता र धर्मनिरपेक्षताविरोधीहरूको अप्रत्यक्ष लगनगाँठो, विभिन्न पार्टीमा गएका पञ्चहरू थ्ाापाको अगुवाइमा जमघट, तीन पार्टीमा विभाजित पञ्चहरूको पार्टी एकीकरणका लागि अन्तिम प्रयास ः यी कुनै काकताली मात्रै होइनन् ।

नेपाली कांगे्रससँग भारतीय संस्थापन पक्ष कांग्रेसको भावनात्मक सम्बन्ध कहिल्यै रहेन । भारतीय सोसलिस्टसँगको सम्बन्धका कारण बिपीबाबु र नेपाली कांग्रेस उसको सम्बन्ध कहिल्यै न्यानो रहेन । सोभियत संघको प्रभावमा रहेको भारतलाई बिपीबाबुले इजरायललाई मान्यता दिएको सह्य थिएन । यसो त निर्वाचित काग्रेस सरकारलाई अपदस्त गरिँदा पनि नेहरूले धेरै दिनपछि मात्रै संसद्मा ०१७ सालको महेन्द्र-कदमको झनिो विरोध गरे । त्यसको पछाडि पनि नेहरू र कांग्रेसका कटु आलोचक राममनोहर लोहिया, जयप्रकाश नारायण र भारतीय सोसलिस्टहरूसँग नेपाली कांग्रेसको सम्बन्ध राम्रो रहनु र नेपाली कांग्रेसको तत्कालीन सरकारले स्वतन्त्र विदेशनीति अपनाउन खोज्नु हो । बंगलादेश र सिक्किम प्रकरणपछि इन्दिरा गान्धीको अभीष्ट थाहा पाएर राष्ट्रिय मेलमिलाप नीति लिँदै बिपीबाबु देश र्फकनुभएको हो ।

राजाहरूले चीनलाई रिझाउन कीर्तिनिधि बिष्ट र भारतलाई रिझाउन सूर्यबहादुर थापालाई अगाडि सार्दै आए । शीतयुद्धकालीन सामरिक जटिलतामा त्यो आफ्नै प्रकारले पञ्चायतको बरदान पनि बन्यो भने परिवर्तित अवस्थामा त्यसले थेग्न सकेन । त्यसैले अरूले जतिसुकै भक्ति गरे पनि लामो समयदेखि कांग्रेस आईको निर्विवाद आशीर्वाद थापालाई नै रहँदै आएको छ । र, उसले अबको भरपर्दाे शक्ति पनि थापाको वैचारिक नेतृत्वसहितको नेपाली सेनालाई सोच्न पुगेको छ ।

अहिलेका भारतीय शासकहरूको ठूलो हिस्सा विचार र आन्दोलनको पृष्टभूमिबाट होइन, कुलीनवर्ग र व्यवस्थापकीय कौशलबाट सत्तामा आएकाले पनि उनीहरूको विचारमा सनातनपना छ । उनीहरू यथास्थितिको निरन्तरतामा कुनै आँच नआउनेगरी परिवर्तन होस् भन्ने चाहन्छन् । अर्काे उल्लेखनीय पक्ष के हो भने साउथ ब्लक नै नेपालसम्बन्धी नीति-निर्माणको महत्त्वपूर्ण भूमिकामा छ । अन्य मुलुकबारे यथार्थवादी दृष्टिकोण राख्न सके पनि उनीहरू छिमेकीप्रति भने अंग्रेजनीतिलाई नै निरन्तरता दिन पुग्छन् र छिमेकमा समस्या पैदा हुन्छ । उनीहरूले लाहुरे मानसिकताबाट ग्रस्त नेपालीको मनोदशा त बुझेका छन्, तर स्वाभिमानी नेपालीत्व र धरातलीय यर्थाथ भने बुझेका छैनन् । यही मानसिक समस्याले गर्दा उनीहरूले जहिले पनि हस्तक्षेप गरेर भारतविरोधी मानसिकता पैदा गर्दै आएका छन् । उनीहरूको रोजाइमा जनताबाट तिरस्कृतहरू नै अहं महत्त्वका शक्ति बन्दै आएका छन्, जसमार्फत आफ्नो अभीष्ट पूरा हुन्छ भन्ने ठम्याइ उनीहरूमा छ ।

अहिले समस्या कहाँ हो त ? विश्वराजनीतिमा धेरै कुरा फेरिए, तर भारतीय शासकवर्गको मानसिकता भने फेरिएको छैन । छिमेकीप्रति अंग्रेजकालीन हेपाहा नीति र आफ्नै सुरक्षा छातामा छिमेकीको शासनाधिकार रहोस् भन्ने उसको मनोकामना नै समस्या हुन् । विश्व महाशक्ति बन्ने दौडमा सामेल क्षेत्रीय महाशक्ति भारतको पहिलो चाहना भनेको छिमेकीमा बर्चस्व कायम गर्नु नै हो । उसको महत्त्वाकांक्षा पूरा गर्न छिमेकीको पनि भावनात्मक विश्वास आवश्यक हुन्छ । त्यस्तो विश्वास जनअनोमोदित शक्तिलाई पाखा लगाएर होइन, उससँग सहकार्य गरेर मात्रै पूरा हुन्छ । सूर्यबहादुर थापा र उनको कम्पनीलाई अगाडि सारेर भारतले फेरि थालेको प्रयोग एउटा भद्दा खेल मात्रै हुनेछ, संसारको ठूलो प्रजातान्त्रिक मुलुकको लोकतन्त्र र जनअभिमतको विपक्षमा हुनेछ ।
http://www.nayapatrika.com/newsportal/permalink/10483.html

No comments:

Post a Comment